काठमाडौँ । प्रभु बैंक लिमिटेडले विपद्बाट प्रभावित परिवारका लागि काठमाडौँस्थित पहेंलो गुम्बालाई ६ थान दुईतल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बंक बेड उपलब्ध गराएको जनाएको छ। प्राकृतिक विपद् तथा बाढीका कारण घरबारविहीन भई आश्रयस्थलमा बसिरहेका परिवारका लागि आवश्यक सामग्रीको पहिचान गरी उक्त सहयोग गरिएको बैंकको भनाइ छ।
बैंकका अनुसार यस सहयोगबाट पहेंलो गुम्बामा आश्रय लिइरहेका प्रभावित परिवारलाई बसोबासमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।
यसअघि पनि प्रभु बैंकले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित र घरबारविहीन परिवारका लागि राहत सहयोग गरेको थियो। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको जनाएको छ। त्यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँसमेत उक्त कोषमा प्रदान गरिएको थियो।
बैंकले बाढी प्रभावित परिवारका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग पनि उपलब्ध गराएको जनाएको छ।
त्यसैगरी, विपद्बाट घाइते भएका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो।
प्रभु बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।
बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने जनाएको छ।






