काठमाडाैँ । प्रभु बैंक लिमिटेडले प्राकृतिक विपद्का कारण प्रभावित तथा घाइते भएकाहरूलाई सहयोग पुर्याउने उद्देश्यले सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले मंगलबार २०८३ भदौ ३० गते एकै समयमा देशका आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।
कार्यक्रम बैंकको केन्द्रीय कार्यालय बबरमहलसहित बागमती प्रदेशको नारायणगढ शाखा, कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको सिमरा शाखा, गण्डकी प्रदेशको अमरसिंहचोक शाखा, लुम्बिनी प्रदेशको बुटवल शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा आयोजना गरिएको थियो।
बैंकले यसअघि पनि बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत सहयोग गरेको जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो। त्यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित ४० लाख ८० हजार ५० रुपैयाँ समेत उक्त कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बाढी प्रभावित परिवारका लागि बैंकले जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग समेत उपलब्ध गराएको जनाएको छ।
बैंकले प्राकृतिक विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने बैंकले जनाएको छ।




