काठमाडौं - कृषि विकास बैंकले ग्राहकलाई आफ्नो ग्राहक पहिचान विवरण (KYC) अद्यावधिक गर्न आग्रह गर्दै ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ : हाम्रो अभियान’ नारासहित KYC सचेतना सप्ताह सञ्चालन गरिरहेको छ।
बैंकका अनुसार २०८३ भदौ ३० देखि असोज ५ गतेसम्म सञ्चालन हुने अभियानमार्फत ग्राहकलाई KYC विवरण अद्यावधिकको महत्त्वबारे जानकारी गराइँदैछ।
KYC अर्थात् Know Your Customer बैंकले ग्राहकको पहिचान तथा व्यक्तिगत विवरण अभिलेखमा राख्ने र आवश्यकताअनुसार अद्यावधिक गर्ने प्रक्रिया हो। ग्राहकको विवरणमा परिवर्तन आएमा त्यसको जानकारी बैंकलाई गराउनु KYC अद्यावधिकको महत्वपूर्ण पक्ष हो।
बैंकले ग्राहकको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको अवस्थामा समयमै KYC विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
ग्राहकले आफ्नो नजिकको कृषि विकास बैंकको शाखामा गएर KYC विवरण अद्यावधिक गर्न सक्नेछन्। समयमै विवरण अद्यावधिक गर्दा बैंकमा रहेको ग्राहकको अभिलेख सही र अद्यावधिक राख्न तथा बैंकिङ कारोबारमा हुन सक्ने सम्भावित जोखिम व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकको भनाइ छ।
KYC सचेतना सप्ताहअन्तर्गत बैंकले भौतिक कार्यक्रम, सामाजिक सञ्जाल अभियान तथा रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत विभिन्न सञ्चार माध्यममार्फत ग्राहकलाई KYC सम्बन्धी जानकारी दिइरहेको जनाएको छ।




