प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार रुपैयाँ सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार रुपैयाँ सहयोग

काठमाडौंँ  । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत र उद्धारका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्।

बैंकका अनुसार सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न हस्तान्तरण गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि पनि बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत उपलब्ध गराएको जनाएको छ।

त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने गरी चेक हस्तान्तरण गरेको जनाएको छ।

बैंकले बाढीका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ।

प्रभु बैंकले विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोगलाई निरन्तरता दिने जनाएको छ।