नाडाद्वारा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ राहत सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नाडाद्वारा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ राहत सहयोग

काठमाडौँ - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नाडाले जनाएको छ।

भदौ १० गते केरुङ, रसुवाको टिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको नाडाले जनाएको छ।

नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको छ। संस्थाका अनुसार प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ।

नाडाले विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल र सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति थियो।