काठमाडौं - लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीले घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत असर पुर्याएको छ।
तत्कालीन उद्धार तथा राहतका काम जारी रहेकै बेला प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि थप सहयोग आवश्यक रहेको बैंकले जनाएको छ। बैंकका अनुसार उक्त योगदानमार्फत प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्किन र पुनर्निर्माणका प्रयासलाई अघि बढाउन भइरहेको सामूहिक अभियानमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
बैंकले बाढीका कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धारकर्मी, राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति सम्मान व्यक्त गरेको छ।
लक्ष्मी सनराइज बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।




