काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयरसहित कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित नगद लाभांशमा करसमेत समावेश छ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि, डिजिटल बैंकिङ तथा ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ।
बैंकका अनुसार ग्लोबल आइएमई ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय छन्। यी माध्यमबाट बैंकले १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको जनाएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।




