भोटेकोशी बाढी प्रभावितका लागि एनएमबि बैंकको तीन करोड ५१ लाख रुपैयाँ सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भोटेकोशी बाढी प्रभावितका लागि एनएमबि बैंकको तीन करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि कुल तीन करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी तीन करोड ४१ लाख रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको जनाएको छ। बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसका अतिरिक्त बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको छ।

अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको छ। बाढीका कारण धेरै परिवार विस्थापित हुनुका साथै सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनाहरूमा समेत असर परेको छ।

बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ। बैंकका अनुसार, सहयोग रकम प्रभावित नागरिकहरूको राहत, उपचार, खाद्यान्न तथा अस्थायी आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।