भोटेकोशी बाढीबाट ११ वाणिज्य बैंकका १६ शाखा क्षतिग्रस्त, ७३ हजार खातामा रु. ३.९८ अर्ब निक्षेप


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भोटेकोशी बाढीबाट ११ वाणिज्य बैंकका १६ शाखा क्षतिग्रस्त, ७३ हजार खातामा रु. ३.९८ अर्ब निक्षेप

काठमाडौं । भोटेकोशी बाढीले रसुवा र नुवाकोटका बैंकिङ सेवामा समेत ठूलो असर पारेको छ। प्रारम्भिक विवरणअनुसार दुई जिल्लामा ११ वाणिज्य बैंकका १६ शाखा क्षतिग्रस्त भएका छन्। ती शाखासँग सम्बन्धित ७३ हजार २ सय ७५ निक्षेप खातामा रु. ३ अर्ब ९८ करोड ८४ लाख १९ हजार निक्षेप रहेको थियो।

त्यस्तै, ती शाखामार्फत २ हजार २८ ऋण खातामा रु. २ अर्ब ३३ करोड १३ लाख ३३ हजार कर्जा प्रवाह भएको विवरण छ।

बाढीका कारण शाखा भवनसँगै भल्ट, एटीएम, क्यास काउन्टरलगायतका संरचना तथा सामग्रीमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार १५ वटा शाखाको भल्टमा रहेको रु. १५ करोड २ लाख १० हजार नगद समेत बाढीबाट प्रभावित भएको छ।

बाढीपछि बैंक तथा वित्तीय संस्थाका ३५ जना कर्मचारी सम्पर्कविहीन रहेको नेपाल राष्ट्र बैंकको प्रारम्भिक विवरणमा उल्लेख छ। तीमध्ये २७ जना वाणिज्य बैंक र ६ जना लघुवित्त संस्थाका कर्मचारी छन्। दुई जना भने बिदाका क्रममा प्रभावित क्षेत्रमा पुगेका व्यक्ति रहेको विवरण छ।

बाढीको असर बैंकहरूको जलविद्युत् क्षेत्रमा रहेको कर्जा लगानीमा समेत पर्न सक्ने देखिएको छ। प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको जलविद्युत् आयोजनामा उल्लेख्य लगानी रहेकाले आयोजनामा भएको क्षतिको प्रभाव कर्जाको गुणस्तर र असुलीमा पर्न सक्ने जोखिम छ। यद्यपि, यसको वास्तविक वित्तीय प्रभाव अहिले नै निर्धारण गर्न सकिने अवस्था छैन।

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाका शाखा, कर्मचारी, नगद तथा अन्य सम्पत्तिमा भएको क्षतिको विवरण संकलन गरिरहेका छन्। क्षतिको विस्तृत मूल्याङ्कनपछि मात्रै बाढीले बैंकिङ क्षेत्रमा पारेको समग्र वित्तीय प्रभावको स्पष्ट तस्वीर आउनेछ।