काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पठाउन सिटी एक्सप्रेसले विदेशबाट नेपाल पठाइने रेमिट्यान्सको सेवा शुल्क मिनाहा गर्ने जनाएको छ।
कम्पनीका अनुसार यो सुविधा बाढी तथा पहिरो सुरु भएयता लागू गरिएको हो। यसअन्तर्गत विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा विपद् प्रभावित आफन्तलाई रकम पठाउँदा सेवा शुल्क तिर्नुपर्ने छैन।
यो सुविधा संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानलगायत खाडी मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा लागू हुनेछ।
त्यस्तै, जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियासहित एसिया–प्रशान्त क्षेत्रका मुलुकबाट तथा बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्सलगायत युरोपेली मुलुकबाट पठाइने रकममा पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। न्युजिल्यान्डबाट पठाइने रेमिट्यान्समा समेत यो सुविधा लागू हुनेछ।
कम्पनीका अनुसार सिटी एक्सप्रेसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा उपलब्ध हुनेछ। यसबाट विदेशमा रहेका नेपालीलाई विपद्को समयमा नेपालमा रहेका परिवार तथा प्रभावित आफन्तलाई आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ।
सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई उक्त सुविधाको उपयोग गर्दै बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गर्न आग्रह गरेको छ।
सिटी एक्सप्रेसले विगत दुई दशकदेखि विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने सेवा प्रदान गर्दै आएको जनाएको छ।




