काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले यसअघि अध्यक्ष रहेका प्रचण्डमान श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ। श्रेष्ठले बुधबार सञ्चालक समिति तथा बैंकको उच्च व्यवस्थापनलाई इमेलमार्फत अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन्।
बुधबार बसेको सञ्चालक समिति बैठकमै नयाँ अध्यक्षका रूपमा अर्याललाई नियुक्त गर्ने विषयमा सहमति जुटेको थियो। उक्त सहमतिलाई आइतबारको बैठकले औपचारिक निर्णयमार्फत कार्यान्वयनमा ल्याएको हो।
डा. अर्याल प्रशासन तथा आर्थिक क्षेत्रमा लामो अनुभव भएका पूर्वसरकारी अधिकारी हुन्। उनले अर्थ मन्त्रालयमा सहसचिवका रूपमा काम गर्नुका साथै उद्योग, सञ्चार तथा सूचना प्रविधि र वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाल सरकारको मुख्यसचिवसमेत भइसकेका छन्।
आर्थिक तथा वित्तीय क्षेत्रको ज्ञान र प्रशासनिक अनुभवका कारण अर्यालको नियुक्तिले बैंकको नेतृत्वलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। बैंकका एक सञ्चालकका अनुसार अर्याललाई सञ्चालकहरूबीच समन्वय कायम गर्दै बैंकलाई थप मजबुत रूपमा अघि बढाउन सक्ने क्षमताका कारण अध्यक्षमा ल्याइएको हो।




