सिद्धार्थ बैंकद्वारा बाढीपीडितका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकद्वारा बाढीपीडितका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौं  - सिद्धार्थ बैंक लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

उक्त रकमको चेक सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बश्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।

बैंकका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा लगायतका क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको हो। सरकारले पनि बाढी प्रभावितको राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

सिद्धार्थ बैंकले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ।

बाढीपछि बैंकिङ क्षेत्रसहित विभिन्न संस्था तथा निकायले राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाइरहेका छन्। बाढीबाट रसुवाका विभिन्न वाणिज्य बैंकका शाखासमेत प्रभावित भएका छन्।