बाढीले बगाएको बैंकको सेफ तोडफोड गरी नगद निकालेको आरोपमा २९ जना पक्राउ


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाढीले बगाएको बैंकको सेफ तोडफोड गरी नगद निकालेको आरोपमा २९ जना पक्राउ

धादिङ - रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडफोड गरी नगद निकालेको आरोपमा धादिङमा २९ जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले रु. ९२ लाख ६८ हजार ५०५ बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले पनि घटनामा केही व्यक्ति पक्राउ परेको र नगद बरामद भएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले सेफ बगाएर ल्याएको थियो। उक्त सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो।

त्यहाँ सेफ तोडफोड गरी भित्र रहेको नगद निकालिएको सूचना पाएपछि प्रहरीले खोजतलास र अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ का पवन पौडेल, वीरबहादुर रानामगर, विनोद गिरी, नवराज भेटुवाल, पूर्णलाल श्रेष्ठ, विष्णुमणि अधिकारी, कृष्ण मगर, शिवबहादुर रानामगर, युवराज अधिकारी, सुचिमबहादुर रानामगर, सविन श्रेष्ठ, प्रेमबहादुर रानामगर, अनिल भेटुवाल, रामशरण सुवेदी, मिनबहादुर रानामगर, देवेन्द्र रानामगर, दीपक तामाङ, राजकुमार भेटुवाल, दिनेश अधिकारी, दिनेश पुलामी, टेकबहादुर रानामगर र सन्तोष श्रेष्ठ रहेका छन्।

त्यस्तै सुशान्त श्रेष्ठ, नारायण श्रेष्ठ, अग्नि आलेमगर, सानुभाइ श्रेष्ठ, सानु खतिवडा, विचारी आलेमगर र सकुर अन्सारी पनि पक्राउ परेको प्रकाशित प्रहरी विवरणमा उल्लेख छ।

प्रहरीले बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ।

यस घटनामा सेफ कुन बैंकको हो र त्यसमा सुरुमा कति रकम थियो भन्ने विवरण प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन। त्यसैले बरामद रु. ९२ लाख ६८ हजार ५०५ नै सेफमा रहेको कुल रकम हो भन्ने निष्कर्ष निकाल्न सकिने अवस्था छैन।

धादिङ–१ की सांसद आशिका तामाङले यसअघि सामाजिक सञ्जालमार्फत बाढीले बगाएर ल्याएको बैंकको सेफ फुटाएर पैसा निकालिएको विषय उठाउँदै आएकी थिइन्।