काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलबबाट १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरिएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार सहयोगले बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैंकले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।




