काठमाडौं, भदौ ११। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गर्दै राहतका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको जनाएको छ।
बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नाडाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
राष्ट्रिय विपद्को अवस्थामा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा राज्यसँगै निजी क्षेत्र र नागरिकले समेत सहकार्य गर्नुपर्नेमा नाडाले जोड दिएको छ। नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आह्वानसमेत गरेको छ।
विपद्पछिको उद्धार तथा राहतमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परताप्रति नाडाले कृतज्ञता व्यक्त गरेको छ। प्रभावित जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै सरकारले जारी गरेका आपतकालीन सूचना तथा उद्धार र राहतका प्रयासप्रति पनि नाडाले समर्थन जनाएको छ।
नाडाका अनुसार विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएकाले निजी क्षेत्रले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्नुपर्ने अवस्था आएको छ।
नाडा अटो शो निरन्तर सञ्चालन हुने
यसैबीच, भदौ १० गतेको बाढी नाडा अटो शो २०२६ सञ्चालन भइरहेकै समयमा आएको भए पनि भृकुटीमण्डपमा जारी अटो शो निरन्तर सञ्चालन हुने नाडाले जनाएको छ।
नाडाले विपद्को सामना गर्दै आर्थिक गतिविधिलाई समेत चलायमान राख्नुपर्ने आवश्यकता रहेको बताएको छ। आर्थिक गतिविधिको निरन्तरताले व्यवसाय, रोजगारी र समग्र अर्थतन्त्रलाई चलायमान राख्न सहयोग पुग्ने भएकाले अटो शो सञ्चालनलाई निरन्तरता दिइएको जनाएको छ।
नाडाले सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्दै विपद्को सामना गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ।




