काठमाडौं । बुधबार बिहान आएको भीषण बाढीले रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा सञ्चालनमा रहेका र निर्माणाधीन गरी कम्तीमा १५ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार प्रभावित आयोजनाको कुल क्षमता ९७३ मेगावाट छ।
क्षति पुगेकामध्ये ५७९ मेगावाट क्षमताका १० आयोजना सञ्चालनमा थिए भने ३९४ मेगावाट क्षमताका पाँच आयोजना निर्माणाधीन अवस्थामा थिए। बाढीले विद्युतगृह, प्रसारण पूर्वाधार, पहुँच मार्ग तथा आयोजनासँग सम्बन्धित अन्य संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली ३ बी हब, त्रिशूली जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली ३ ए र देवीघाट जलविद्युत् आयोजनाका विद्युतगृह तथा अन्य संरचनामा गम्भीर क्षति पुगेको छ।
बाढीको सबैभन्दा ठूलो असर रसुवा क्षेत्रमा देखिएको छ। उपलब्ध प्रारम्भिक विवरणअनुसार जिल्लामा १११ मेगावाटको रसुवागढी, ४८ मेगावाटको सान्जेन खोला, ५ मेगावाटको मैलुङ खोला, २० मेगावाटको लाङटाङ खोला र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना सञ्चालनमा थिए।
त्यस्तै, रसुवामै २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १२० मेगावाटको रसुवा भोटेकोशी र ६।४२ मेगावाटको माथिल्लो मैलुङ ए निर्माणाधीन अवस्थामा छन्। यी आयोजनाका संरचना तथा पहुँच पूर्वाधारमा पनि बाढीले क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ। नुवाकोटमा पनि प्राधिकरणका पुराना तथा ठूला जलविद्युत् संरचना प्रभावित भएका छन्। जिल्लामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना, १४।१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र २५ मेगावाटको सोलार आयोजना सञ्चालनमा छन्।




