‘नाडा अटो शो २०२६’को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था; अग्रिम टिकट बुकिङ खुला


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘नाडा अटो शो २०२६’को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था; अग्रिम टिकट बुकिङ खुला

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको हो।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती का अनुसार सोमबारसम्म प्रदर्शनीस्थलमा २१५ भन्दा बढी स्टल निर्माण सम्पन्न भइसकेका छन्। पत्रकारलाई प्रदर्शनीस्थलको अवलोकन गराउँदै उनले यस वर्षका स्टलहरू अघिल्ला संस्करणको तुलनामा थप फराकिला, व्यवस्थित र दर्शकमैत्री बनाइएको बताए।

उनका अनुसार प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाइएको छ भने पर्याप्त बत्ती, एयर कन्डिसनर (एसी) र पंखाको व्यवस्था गरिएको छ। साथै चारपाङ्ग्रे, दुईपाङ्ग्रे, बैंक तथा वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्र छुट्याएर प्रदर्शनीलाई व्यवस्थित गरिएको छ।

दर्शकले सवारीसाधन, त्यससँग सम्बन्धित वित्तीय सेवा, बीमा, सर्भिस तथा अटो पार्ट्सलाई क्रमबद्ध रूपमा अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ। यसबाट गाडी खरिद गर्न चाहने उपभोक्ताले सवारीसँगै वित्तीय सुविधा, बीमा, मर्मत तथा अन्य सेवाबारे एउटै स्थानबाट विस्तृत जानकारी लिन सक्ने विश्वास आयोजकको छ।

यस वर्षको अटो शोमा ५३ वटा सवारीसाधन ब्रान्ड, ७० वटा अटो पार्ट्स तथा सेवा कम्पनीकरिब ११ वटा बैंक तथा वित्तीय संस्था सहभागी हुनेछन्।

अवलोकनकर्ताको सुविधाका लागि नाडाले अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरेको छ। खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत टिकट खरिद गर्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ निर्धारण गरिएको छ।

मंगलबार बिहान १०:३० बजे सुरु हुने अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले गर्ने कार्यक्रम रहेको छ।

अवलोकनकर्ताको सवारी पार्किङ व्यवस्थापनका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङसिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर मा पार्किङको व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए।

यसका साथै प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया, आकस्मिक स्वास्थ्य सेवा, सीसीटीभी निगरानी तथा अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको नाडाले जनाएको छ।