काठमाडौं । इन्जिनियरिङ तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यवसायी एवं नेतृत्वकर्ता इ. सैलेश आचार्यको नयाँ प्रेरणादायी पुस्तक ‘शब्दले संसार बदल्छ, Decoding the Words’ बजारमा आएको छ। शिखा बुक्सद्वारा प्रकाशित तथा ज्ञान ज्योति बुक्स पब्लिकेसन प्रा.लि.द्वारा वितरित पुस्तकले पाठकमाझ चासो बढाउँदै गएको जनाइएको छ।
सफ्टवेयर इन्जिनियरिङको प्राविधिक ज्ञानसँगै व्यवस्थापनमा एमबीए गरेका आचार्यसँग सरकारी बैंकिङ सेवासहित विभिन्न व्यावसायिक संस्थाको नेतृत्वमा १५ वर्षभन्दा लामो अनुभव छ। सन् २०६७ मा ‘सैलेश किचन कर्नर’ नामक सानो व्यवसायबाट उद्यमशील यात्रा सुरु गरेका उनी हाल आरकेडी होल्डिंग्स लिमिटेड, टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेड र क्राउन रिजर्भ डिस्टिलरीका सञ्चालक तथा बिजबजार लिमिटेडका अध्यक्षका रूपमा कार्यरत छन्।
आचार्यले बैंकिङ तथा व्यवसायिक यात्राका क्रममा हासिल गरेको अनुभव, संघर्ष, असफलता र सफलतालाई पुस्तकको आधार बनाएका छन्। उनका अनुसार, “सफलता कुनै जादु होइन, यो त सही शब्द र सही बानीको इन्जिनियरिङ हो।” यही दर्शनलाई पुस्तकको मूल सन्देशका रूपमा प्रस्तुत गरिएको छ।
पुस्तकमा ‘समीर’ नामक २८ वर्षीय युवकको काल्पनिक तर वास्तविक जीवनसँग नजिकको कथामार्फत सीमित आम्दानी, ठूला सपना, व्यवसाय सुरु गर्दाका चुनौती, सामाजिक दबाब, आर्थिक संकट र पुनरुत्थानको यात्रा प्रस्तुत गरिएको छ। समीरको कथामार्फत पाठकलाई आफ्नै जीवनका संघर्ष र सम्भावनासँग जोड्ने प्रयास गरिएको लेखकले बताएका छन्।
पुस्तकको प्रमुख विशेषताका रूपमा लेखकले विकास गरेको W-O-R-D फ्रेमवर्कलाई लिइएको छ। यसमा Wisdom (बुद्धिमत्ता), Observation (अवलोकन), Repetition (दोहोर्याउने) र Discipline (अनुशासन) समावेश छन्। त्यसमा Learning र Leverage थपिँदा व्यक्तिको ‘Word’ नै ‘World’ मा परिणत हुने अवधारणालाई पुस्तकमा व्याख्या गरिएको छ।
सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न प्रत्येक अध्यायको अन्त्यमा ‘समीरको निजी डायरी’ र ‘आजको एक्सन’ जस्ता अभ्यासहरू राखिएका छन्। त्यस्तै आत्मविश्वास निर्माण, सामाजिक दबाबसँग जुध्ने, आर्थिक अनिश्चितता व्यवस्थापन तथा दैनिक अनुशासन कायम गर्ने व्यावहारिक उपायहरू पनि पुस्तकमा समेटिएका छन्।
पुस्तकको अन्त्यमा ‘२१ दिने डिकोडिङ च्यालेन्ज’ र ‘समस्या समाधान अनुक्रममणिका’ जस्ता खण्ड राखिएको छ। लेखकका अनुसार पुस्तक कुनै गुरुले दिने उपदेश नभई संघर्ष गरिरहेको एक सहयात्रीको अनुभवका रूपमा प्रस्तुत गरिएको छ।
लेखकले पुस्तकलाई व्यावसायिक लगानी, कानुनी वा चिकित्सा परामर्शको विकल्पका रूपमा नभई प्रेरणा, शिक्षा र व्यक्तिगत विकासको उद्देश्यले तयार पारिएको स्पष्ट पारेका छन्।
‘शब्दले संसार बदल्छ, Decoding the Words’ विभिन्न पुस्तक पसलका साथै अनलाइन माध्यमबाट पनि खरिद गर्न सकिने जनाइएको छ। पुस्तक bizbazar.com.np र shikhabook.com बाट समेत उपलब्ध रहेको र खरिदमा छुटको व्यवस्था गरिएको बताइएको छ। पुस्तकको मूल्य रु. ४२५ कायम गरिएको छ।




