एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली


  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्राअन्तर्गत अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ प्रणालीमार्फत ग्राहकले बैंकमा भौतिक रूपमा उपस्थित नभई डिजिटल माध्यमबाटै कर्जाका लागि आवेदन दिन र आवेदनको अवस्था अनलाइनबाटै हेर्न सक्नेछन्।

बैंकका अनुसार नयाँ डिजिटल पोर्टलले कर्जा आवेदन प्रक्रियालाई सरल, पारदर्शी, छिटो र वातावरणमैत्री बनाउन सहयोग गर्नेछ। ग्राहकले जुनसुकै स्थानबाट अनलाइनमार्फत कर्जाको आवेदन दिन सक्नेछन् भने आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी रियल-टाइममा ट्रयाक गर्न सक्ने व्यवस्था गरिएको छ।

अनलाइन प्रणालीका कारण ग्राहकले कर्जा आवेदनका लागि बैंक धाउने तथा कागजी प्रक्रिया पूरा गर्ने झन्झट कम हुने बैंकको विश्वास छ। साथै, डिजिटल प्रक्रियाले कर्जा स्वीकृत हुने समयसमेत घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

यसरी दिन सकिन्छ अनलाइन कर्जा आवेदन
ग्राहकले digi.nmb.com.np मा लगइन गरी Loan Services मा गएर Explore Products विकल्प छनोट गर्नुपर्नेछ। त्यसपछि आफूलाई आवश्यक कर्जाको प्रकार चयन गरी माग गरिएका विवरणहरू भरेर आवेदन पेश गर्न सकिनेछ। आवेदन फारम बुझाएपछि ग्राहकले तत्काल Online Loan Tracking ID प्राप्त गर्नेछन्। उक्त Tracking ID प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ। नयाँ प्रणालीले कर्जा सेवामा डिजिटल पहुँच विस्तार गर्नुका साथै ग्राहक अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।