आफ्नै भवनमा सर्‍यो गरिमा विकास बैंकको केन्द्रीय कार्यालय, चुक्ता पुँजी ६ अर्ब नाघ्यो


  • Kamana Sewa Bikash Bank Ltd.
आफ्नै भवनमा सर्‍यो गरिमा विकास बैंकको केन्द्रीय कार्यालय, चुक्ता पुँजी ६ अर्ब नाघ्यो

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाजिम्पाटमा रहेको आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ। नयाँ केन्द्रीय कार्यालयको बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्घाटन गरेका हुन्।

काठमाडौं महानगरपालिका–३, बालुवाटारमा निर्माण गरिएको नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएसँगै बैंकले काठमाडौंमा पहिलोपटक आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालन थालेको हो। करिब रु. १ अर्ब २५ करोड लागतमा निर्माण गरिएको भवन ३७ आना अर्थात् करिब ४७ हजार ६२५ वर्गफिट क्षेत्रफलमा फैलिएको छ। भवनमा एकैपटक करिब ३२० जना कर्मचारीले काम गर्न सक्ने क्षमता रहेको छ।

गरिमा विकास बैंकले २०६४ कात्तिक १८ गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको थियो। २०६७ वैशाख १ गते केन्द्रीय कार्यालय पोखराको महेन्द्रपुलमा सारेको बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ चैत २७ गते काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण भएको थियो। करिब एक दशक लाजिम्पाटबाट सञ्चालन भएको केन्द्रीय कार्यालय अब आफ्नै भवनमा पुगेको हो।

बैंकको व्यावसायिक विस्तारसँगै यसको वित्तीय आकारसमेत बढेको छ। कार्यक्रममा बैंकको चुक्ता पुँजी रु. ६ अर्ब २ करोड र निक्षेप रु. १ खर्ब पुगेको जानकारी दिइएको थियो। बैंकमा हाल १ हजार ५२ कर्मचारी कार्यरत छन् भने ३७ जिल्लामा १२६ शाखा सञ्चालनमा छन्। बैंकका करिब १ लाख शेयरधनी रहेको जनाइएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौंसम्म आइपुगेको र आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै संस्थाको विकास यात्रामा नयाँ अध्याय थपिएको बताए।

उनले बैंकको व्यावसायिक यात्रामा ग्राहक, शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदानसँगै संस्थागत सुशासन महत्वपूर्ण रहेको उल्लेख गरे।

बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले ग्राहक, निक्षेपकर्ता र शेयरधनीको विश्वास कायम राख्दै संस्थागत सुशासन, पारदर्शिता, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर बैंकलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकको उपस्थिति थियो।

नवनिर्मित कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजासमेत गरिएको बैंकले जनाएको छ।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको आधिकारिक वेबसाइटले पनि हालको केन्द्रीय कार्यालयको ठेगाना बालुवाटार कायम गरेको छ।