काठमाडौं - नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गर्ने यस वर्षको प्रदर्शनी संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार करिब तीन लाख वर्गफुट क्षेत्रमा सञ्चालन हुने छदिने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन, दुईपांग्रे, अटोमोबाइल पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, वित्तीय तथा बीमा सेवासँग सम्बन्धित कम्पनीहरू प्रदर्शनीमा सहभागी हुनेछन्।
यस वर्षको प्रदर्शनीमा विभिन्न ब्रान्डले नयाँ मोडल तथा प्रविधि सार्वजनिक गर्ने तयारी गरेका छन्। पछिल्लो समय विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार र स्मार्ट मोबिलिटीप्रति बढ्दो चासोका बीच अटो शोमा यी विषयलाई पनि प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा G1 Humanoid Robot र Go2 Quadruped Robot समेत राखिने भएका छन्। आयोजकका अनुसार यसबाट आगन्तुकले अटोमोबाइल क्षेत्रभन्दा बाहिर विकसित भइरहेका रोबोटिक्स तथा नयाँ प्रविधिको समेत अनुभव गर्न पाउनेछन्।
स्वदेशी उत्पादनमा जोड
यसपटक ‘Made in Nepal / Made for Nepal Pavilion’ पनि राखिने भएको छ। उक्त क्षेत्रमा नेपालमै एसेम्बल वा उत्पादन हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ।
नेपालको अटोमोबाइल बजारमा आयातित सवारीसाधनको ठूलो हिस्सा रहेकाले स्वदेशी एसेम्बली तथा उत्पादनलाई छुट्टै स्थान दिइनुलाई घरेलु औद्योगिक क्षमता र अटोमोबाइल आपूर्ति शृङ्खलालाई प्रवर्द्धन गर्ने प्रयासका रूपमा हेरिएको छ।
अटो शोमा स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीसँग सम्बन्धित विषयमा छलफल तथा सिम्पोजियम पनि आयोजना गरिने आयोजकले जनाएको छ।
वित्तीय तथा बीमा कम्पनीको सहभागिता
सवारीसाधन खरिदसँग प्रत्यक्ष सम्बन्धित वित्तीय तथा बीमा सेवाका कम्पनीहरू पनि प्रदर्शनीमा सहभागी हुनेछन्।
आयोजकका अनुसार प्रदर्शनीले ग्राहकलाई नयाँ सवारीसाधन तथा प्रविधिबारे जानकारी लिनुका साथै वित्तीय तथा बीमा सेवासम्बन्धी जानकारी प्राप्त गर्ने अवसर दिनेछ।
अटोमोबाइल व्यवसायीहरूले भने यस्तो प्रदर्शनीले नयाँ मोडल र प्रविधिबारे उपभोक्ताको पहुँच बढाउनुका साथै बजारमा कारोबार बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छन्।
पार्किङ र सुरक्षा व्यवस्था
आयोजकले प्रदर्शनीस्थलमा आगन्तुकको सहजताका लागि दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था तथा अटोमोबाइल पार्टपुर्जासहितका छुट्टाछुट्टै क्षेत्र बनाउने जनाएको छ।
टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ। निश्चित अवधिका लागि टिकटमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, आकस्मिक स्वास्थ्य सेवा, सीसीटीभी निगरानी, अग्नि सुरक्षा, ट्राफिक सूचना डेस्क र ह्वीलचेयरमैत्री सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।
आयोजकले यस वर्षको नाडा अटो शोमा करिब दुई लाख आगन्तुक आउने अपेक्षा गरेको छ।
प्रदर्शनीको टाइटल स्पोन्सर एचपी लुब्रिकेन्ट्स रहेको छ। शिखर इन्स्योरेन्स को–स्पोन्सर तथा इन्स्योरेन्स पार्टनरका रूपमा रहेको छ भने विभिन्न कम्पनीहरू प्रविधि, चार्जिङ, टिकटिङ, मोबिलिटी, कनेक्टिभिटी, स्वास्थ्य, खाद्य तथा सुरक्षा साझेदारका रूपमा सहभागी छन्।
नाडाका अनुसार अटो शोको उद्देश्य नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनसँगै नेपालमा विकसित भइरहेको अटोमोबाइल र मोबिलिटी क्षेत्रलाई एउटै मञ्चमा प्रस्तुत गर्नु हो।
प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।



