काठमाडौंमा आयोजना हुने १८औँ संस्करणको ‘नाडा अटो सो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि आवश्यक तयारी पूरा भएको छ।
नाडाले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै अटो सोको तयारी पूरा भएको जानकारी दिएको हो।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडा स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना हुने यसपटकको अटो सो विगतका संस्करणभन्दा विशेष हुने बताए। उनका अनुसार प्रदर्शनीमा विभिन्न कम्पनीका नवीनतम उत्पादन तथा प्रविधिलाई आकर्षक रूपमा प्रस्तुत गरिनेछ।
अटो सोका कार्यक्रम संयोजक अनुप बरालले यस वर्षको प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहने जानकारी दिए। उनका अनुसार प्रदर्शनीले अटोमोबाइल व्यवसायसँग सम्बन्धित कम्पनी तथा व्यवसायीबीच व्यावसायिक सञ्जाल विस्तारमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनी नाडाको स्वर्ण जयन्ती विशेष संस्करणसमेत हो। बरालले अघिल्ला संस्करणको तुलनामा यसपटकको प्रदर्शनीलाई थप व्यवस्थित र आकर्षक बनाइएको बताए।
नाडाका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनु र उपभोक्तालाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनबारे प्रत्यक्ष जानकारी दिने हो।
प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार तथा प्यासेन्जर कमर्सियल भेइकल (पीसीभी), १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन तथा १० वित्तीय संस्था र बीमा सेवा प्रदायकको सहभागिता रहनेछ। यस्तै, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा सम्बन्धित उत्पादनका स्टल रहने आयोजकले जनाएको छ।
प्रदर्शनीको विशेष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ। छ दिनसम्म चल्ने अटो सोमा टायर तथा अन्य अटोमोबाइलसम्बन्धी सेवा र उत्पादनका स्टलसमेत रहनेछन्। साथै, विभिन्न जानकारीमूलक कार्यक्रम आयोजना गरिने नाडाले जनाएको छ।
अटो सोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था र व्यवसायिक प्रतिष्ठानको सहभागिता रहनेछ। यसबाट नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकले आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवा सार्वजनिक गर्ने अवसर पाउने नाडाको भनाइ छ।
विगतका वर्षमा जस्तै दशैं सुरु हुनुभन्दा केही साताअघि आयोजना हुन लागेको अटो सोमा यसपटक पनि हजारौँ सर्वसाधारणसँगै अटोमोबाइल व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपालको अटोमोबाइल बजार विद्युतीय सवारीसाधन (ईभी) तर्फ तीव्र रूपमा आकर्षित भइरहेका बेला आयोजना हुन लागेको ‘नाडा अटो सो २०२६’ लाई नयाँ प्रविधि, नयाँ ब्रान्ड र नयाँ व्यावसायिक अवसर प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको नाडाले जनाएको छ।



