कृषि विकास बैंक र ग्रान्डी अस्पतालबीच स्वास्थ्य तथा बैंकिङ सेवामा विशेष सुविधा दिने सम्झौता


कृषि विकास बैंक र ग्रान्डी अस्पतालबीच स्वास्थ्य तथा बैंकिङ सेवामा विशेष सुविधा दिने सम्झौता

कृषि विकास बैंक लिमिटेड (ADBL) र टोखा, काठमाडौंस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल (GIH) बीच दुवै संस्थाका कर्मचारी तथा परिवारजनलाई स्वास्थ्य र बैंकिङ सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक सुशिल हुंमागाइ र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुख्य सञ्चालन अधिकृत (COO) कर्णेल अमृत खन्नाले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका विभागीय प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल र व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा अस्पतालका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ अधिकृत मौलिका देउजा र अधिकृत माधव शर्माको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी र उनीहरूका आश्रित परिवारका सदस्यलाई स्वास्थ्योपचार, विभिन्न परीक्षण, बेड चार्ज, सर्जरी तथा वेलनेस प्याकेजमा विशेष छुट उपलब्ध गराउनेछ। त्यस्तै, टेलि–कन्सल्टेसन, आपतकालीन उद्धार सेवा (रोड तथा हेलि सर्भिस) र स्वास्थ्य सचेतना कार्यक्रमहरूमा समेत प्राथमिकता तथा सहुलियत प्रदान गरिनेछ।

अर्कोतर्फ, कृषि विकास बैंकले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टर, नर्स, प्यारामेडिक्स तथा अन्य कर्मचारीलाई विभिन्न बैंकिङ सेवामा विशेष छुट तथा सहुलियत उपलब्ध गराउनेछ। अस्पतालका कर्मचारीले बैंकका शाखामार्फत डिजिटल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, लकर सुविधा र घर, सवारी तथा शिक्षा कर्जालगायतका सेवामा लाग्ने सेवा शुल्क तथा प्रिमियम दरमा विशेष छुट पाउनेछन्।

यसैगरी, वैदेशिक मुद्रा सटही तथा रेमिट्यान्स सेवामा समेत विशेष सहुलियत उपलब्ध गराइने बैंकले जनाएको छ।

दुवै संस्थाका अनुसार, सम्झौताले कर्मचारी कल्याण, सेवा प्रवाह तथा ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै संस्थागत सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्य तथा बैंकिङ क्षेत्रका दुई संस्थाबीचको सहकार्यले सेवा आदानप्रदान, संस्थागत सम्बन्ध विस्तार र दीर्घकालीन व्यावसायिक साझेदारीका लागि समेत आधार तयार गर्ने विश्वास गरिएको छ।

सम्झौता अनुसारका छुट तथा सुविधा लिन दुवै संस्थाका कर्मचारीले आफ्नो संस्थाको आधिकारिक परिचयपत्र (Identity Card) प्रस्तुत गर्नुपर्नेछ।