३ अर्ब २० करोड अपचलन प्रकरण: कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ


३ अर्ब २० करोड अपचलन प्रकरण: कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा भएको बहुचर्चित आर्थिक अनियमितता तथा बैंकिङ कसुर प्रकरणमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार नेपालगन्जबाट तत्कालीन सीईओ नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आवश्यक आन्तरिक प्रक्रिया पालना नगरेको, कमजोर वा शंकास्पद धितोका आधारमा ऋण स्वीकृत गरिएको, धितो मूल्यांकन तथा कागजात व्यवस्थापनमा गम्भीर कमजोरी भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानमा तत्कालीन व्यवस्थापन तहका पदाधिकारीहरूको भूमिकासमेत केन्द्रमा राखिएको छ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै मुद्दा दायर गरिसकेको छ। उक्त मुद्दामा १०९ जना प्रतिवादी बनाइएका छन्। हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अन्यको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानको दायरामा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायतका व्यक्तिहरू पनि रहेका छन्।

बैंकमा कर्जा अपचलन तथा वित्तीय अनियमितताका कारण वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।

यस घटनाले नेपालको बैंकिङ क्षेत्रमा सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन तथा नियामकीय निगरानीको प्रभावकारितामाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ। अनुसन्धान जारी रहेकाले थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।