काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त हुनुभएका सुमन आचार्य ले आज साउन १ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त भएका आचार्य बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा अनुभवी नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरेको अनुभव बटुलेका छन्। बैंकले उहाँको नेतृत्वमा संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यास अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
पदभार ग्रहणपछि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाको विश्वासलाई थप मजबुत बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बैंकले आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
हाल लुम्बिनी विकास बैंकले देशका सातै प्रदेशमा ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। "निरन्तर सहयात्रा" भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा सञ्चालन गर्दै आएको जनाएको छ।




