काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम (MSME) को वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा योजना सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित उद्यमले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।
बैंकले यो योजनाका लागि इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको जनाएको छ। उक्त प्रणालीले धितोलाई मात्र आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षको समग्र मूल्यांकन गर्नेछ।
बैंकका अनुसार यो व्यवस्थाले धितो अभावका कारण वित्तीय सेवाबाट वञ्चित हुने महिला उद्यमीलाई सहज पहुँच दिलाउँदै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्नेछ।




