काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना र पूर्वाधार विकासका लागि २ अर्ब ४० करोड अमेरिकी डलर (३ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ बराबर) थप सहायताको प्रतिबद्धता जनाएको छ ।
नेपाल र एडीबीबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तामा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उक्त सहयोग नेपालले सन् २०२९ सम्ममा प्राप्त गर्नेछ ।
प्रधानमन्त्री निवासमा मंगलवार भएको भेटवार्तामा दुई देशबीचको पारस्परिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो । भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।




