काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९४(क) अनुसार प्रत्येक वर्ष मौद्रिक नीतिको कार्यान्वयन अवस्था, उपलब्धि, चुनौती तथा नीतिगत व्यवस्थाको समीक्षा गर्दै उक्त प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था रहेको छ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्दाको समष्टिगत आर्थिक अवस्था, मौद्रिक नीति कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा नीतिगत व्यवस्थाको प्रभावकारिताको समीक्षा गरिएको छ।
राष्ट्र बैंकका अनुसार मौद्रिक नीति कार्यान्वयन अवधिमा विश्व अर्थतन्त्रमा भूराजनीतिक तनाव, व्यापार नीतिमा आएको परिवर्तन, इन्धन आपूर्ति तथा मूल्यमा देखिएको उतारचढावजस्ता चुनौती देखिए पनि नेपालको बाह्य क्षेत्र मजबुत रहेको छ। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्दा विदेशी विनिमय सञ्चिति पर्याप्त अवस्थामा रहेको र अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख रहेको उल्लेख गरिएको छ।
मुद्रास्फीति नियन्त्रण र विदेशी मुद्रा सञ्चिति सन्तोषजनक
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको १० महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ। २०८३ वैशाखमा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, विदेशी विनिमय सञ्चिति सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने लक्ष्य राखिएकोमा २०८३ वैशाख मसान्तसम्म उक्त सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
मुद्रा प्रदाय बढ्यो, कर्जा विस्तार अपेक्षाभन्दा कम
मौद्रिक नीतिले विस्तृत मुद्रा प्रदाय (M2) को वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको थियो। तर २०८३ वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२ प्रतिशत पुगेको छ भने निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ६.५ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्दा कर्जा प्रवाहमा दबाब परेको र विगतमा प्रवाह भएका कर्जाको गुणस्तरका कारण निष्क्रिय कर्जा अनुपात बढेको जनाएको छ।
तरलता व्यवस्थापन र ब्याजदर घट्दो क्रममा
प्रतिवेदनअनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेको छ। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल, स्थायी निक्षेप सुविधा तथा नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत तरलता प्रशोचन गरेको छ।
२०८३ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर २.६३ प्रतिशत रहेको छ।
त्यस्तै, निक्षेप तथा कर्जाको ब्याजदरमा पनि कमी आएको छ। २०८३ वैशाखमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
कर्जा प्रवाह र डिजिटल लोनमा सहजीकरण
मौद्रिक नीतिको कार्यान्वयन क्रममा राष्ट्र बैंकले विभिन्न नीतिगत सुधार गरेको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कृषि, विपन्न वर्ग तथा अन्य निर्देशित कर्जाको सीमा पुनरावलोकन गरिएको छ।
लघु, साना तथा मझौला व्यवसायलाई सहजीकरण गर्न विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (Digital Lending) सम्बन्धी व्यवस्थामा संशोधन गर्दै १० लाख रुपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाट उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, निजी आवासीय घर निर्माण वा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गरिएको छ। व्यक्तिगत अधिविकर्ष (Personal Overdraft) कर्जाको सीमा ५० लाख रुपैयाँबाट बढाएर १ करोड रुपैयाँ पुर्याइएको छ।
सेयर धितो कर्जा सीमा वृद्धि
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितोमा आधारित मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ कायम गरेको छ।
त्यस्तै, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह हुने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ कायम गरिएको छ।
वित्तीय स्थायित्व र नियमनमा जोड
प्रतिवेदनमा प्रणालीगत रूपमा महत्वपूर्ण बैंक (Domestic Systemically Important Bank - D-SIB) पहिचान गरी थप नियमन तथा सुपरिवेक्षण व्यवस्था लागू गरिएको उल्लेख छ। साथै, प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीको पहिचान र प्रभावकारी अनुगमनका लागि आवश्यक व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी विनियमावलीमा संशोधन गरी लगानी वातावरण सुधार तथा विदेशी लगानी सहजीकरणका लागि नीतिगत सुधार गरिएको जनाएको छ।
मौद्रिक नीतिको वार्षिक समीक्षाले अर्थतन्त्रमा देखिएका चुनौती, तरलता व्यवस्थापन, ब्याजदर अवस्था, कर्जा विस्तार तथा वित्तीय क्षेत्र सुधारका लागि गरिएका नीतिगत पहलहरूको विस्तृत समीक्षा गरेको छ।




