काठमाडौं - कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत तनहुँ र नवलपुरका दुई सेवामूलक संस्थालाई सहयोग प्रदान गरेको छ।
बैंकले असार २० गते तनहुँको Shree Krishna Pranami Mandir Kripa Dham मा शुद्ध खानेपानीको सुविधा विस्तार गर्न डिप बोरिङ निर्माणका लागि सहयोग उपलब्ध गराएको जनाएको छ। यसैगरी, नवलपुरको Samudayik Prakritik Chikitsalaya लाई बिरामीको उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक फिजियोथेरापी उपकरण हस्तान्तरण गरिएको छ।
सहयोग सामग्री बैंकका सञ्चालक Sanjiv Paudel को उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत Govinda Gurung ले सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बैंकको बागमती प्रदेश कार्यालय चितवनका निर्देशक रामप्रसाद गजुरेल, मार्केटिङ तथा सेल्स विभागका वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, रजहर शाखाका प्रबन्धक विशाल पौडेल, प्रदेश कार्यालय चितवनका वरिष्ठ शाखा प्रमुख सुजन ढकाल, सन्देश डुङ्गेल तथा दुवै संस्थाका अध्यक्ष र पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा, खानेपानी तथा समुदायको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यका साथ विभिन्न सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएको जनाएको छ।




