काठमाडौं– नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा आन्तरिक पर्यटन क्षेत्रले २.६५ प्रतिशत योगदान पुर्याएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ ले देखाएको छ ।
कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार आन्तरिक पर्यटकहरूले वर्षमा कुल ३ खर्ब ८१ अर्ब ८१ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । यो गत वर्षको ५४ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको कुल अर्थतन्त्रको आकारमा २.६५ प्रतिशत हिस्सा हो ।
पर्यटन स्याटलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित रहेर तयार गरिएको यो सर्वेक्षण नेपाल सरकारकै लगानीमा राष्ट्रिय तथ्यांक कार्यालयले पहिलो पटक सम्पन्न गरेको हो । यसअघि पर्यटन बोर्डसँगको सहकार्यमा यस्तै अध्ययन गर्ने प्रयास भए पनि त्यो सफल हुन सकेको थिएन ।




