कृषि विकास बैंक लिमिटेड ले वित्तीय पारदर्शिता र वार्षिक प्रतिवेदन प्रस्तुतीकरणमा उत्कृष्टता कायम राख्दै लगातार दोस्रो वर्ष प्रतिष्ठित नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (BPA) अवार्ड २०२५ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले प्रदान गर्ने उक्त अवार्ड वित्तीय सेवा क्षेत्रको विधामा बैंकलाई प्रदान गरिएको हो। यसअघि बैंकले २०२४ मा पनि यही विधामा सिल्भर अवार्ड जितेको थियो।
ICAN ले बैंकको वार्षिक प्रतिवेदनमा वित्तीय विवरणको स्पष्ट प्रस्तुति, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचनालाई प्रभावकारी रूपमा समेटिएको मूल्याङ्कनपछि सम्मान प्रदान गरेको जनाएको छ।
BPA अवार्डको उद्देश्य संस्थाहरूलाई उच्च गुणस्तरका वार्षिक प्रतिवेदन, वित्तीय पारदर्शिता र उत्कृष्ट सूचना प्रस्तुतीकरणतर्फ प्रोत्साहित गर्नु हो। कृषि विकास बैंकले पछिल्ला वर्षहरूमा सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन अभ्यासलाई निरन्तरता दिएको दाबी गरेको छ।
काठमाडौंस्थित होटल याक एण्ड यति मा आयोजित समारोहमा ICAN का अध्यक्ष निल बहादुर सारु ले बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने लाई अवार्ड हस्तान्तरण गरेका थिए।
बैंकले यस सम्मानलाई संस्थागत सुशासन, उत्तरदायी वित्तीय अभ्यास र पारदर्शिताप्रतिको प्रतिबद्धताको थप पुष्टि भएको जनाएको छ। आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार विश्वसनीय र पारदर्शी वित्तीय सूचना उपलब्ध गराउँदै गुणस्तरीय संस्थागत अभ्यासलाई निरन्तरता दिने बैंकको भनाइ छ।




