काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा "घ" वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतमाथि विभिन्न नियामकीय कारबाही गरेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात (Capital Adequacy Ratio) नियामकीय मापदण्डभन्दा कम कायम गरेका चार लघुवित्त संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ। यसअन्तर्गत आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था (७.७७ प्रतिशत), गणपति लघुवित्त वित्तीय संस्था (६.०६ प्रतिशत), सामुदायिक लघुवित्त वित्तीय संस्था (६.१२ प्रतिशत), नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था (६.०१ प्रतिशत) तथा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था (६.२० प्रतिशत) लाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ अनुसार कारबाही गरिएको हो।
यसैगरी, धौलागिरि लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिलाई कर्मचारी सेवा विनियमावलीविपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गर्नुका साथै स्पष्ट आधारबिना सेवा अवधिबाहिरको रकमसमेत भुक्तानी गरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराइएको छ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिलाई पनि संस्थाको आर्थिक प्रशासन विनियमावलीमा तोकिएको खर्च सीमा र अख्तियारी पालना नगरी सवारी साधन खरिद गरेको विषयमा सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई कर्जा नोक्सानी व्यवस्था अन्तर्गत छुट्याइएको ८१ करोड ५५ लाख रुपैयाँ आम्दानीमा फर्काउँदा ऋणीगत विवरण यकिन नगरी राष्ट्र बैंकको निर्देशनविपरीत लेखाङ्कन गरेको पाइएपछि सचेत गराइएको छ।
राष्ट्र बैंकले नियामकीय मापदण्डको पालना, सुशासन तथा वित्तीय अनुशासन कायम गर्न यस्ता कारबाहीलाई निरन्तरता दिने जनाएको छ।




