काठमाडौं - कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘Infosys Finacle Innovation Awards 2026’ अन्तर्गत ‘Business Model Innovation’ विधामा ‘प्लाटिनम’ सम्मानबाट पुरस्कृत भएको छ।
बैंकले ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (KYC Workflow Compliance) सम्बन्धी नवप्रवर्तनात्मक प्रणाली कार्यान्वयन गरेबापत उक्त सम्मान प्राप्त गरेको जनाएको छ।
इन्फोसिस फिन्याकलले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड कार्यक्रममार्फत विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले अपनाएका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासलाई सम्मान गर्ने गरिन्छ। यस वर्ष ९ विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेकोमा कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लाटिनम’ अवार्ड जित्न सफल भएको हो।
बैंकका अनुसार उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाएको छ। साथै, नियामकीय मापदण्डहरूको प्रभावकारी पालना गर्न सहयोग पुर्याउनुका साथै डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरपर्दो बनाउन योगदान दिएको छ।
बैंकले यस सम्मानले सुरक्षित, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। आगामी दिनमा पनि डिजिटल समाधानको विस्तार गर्दै ग्राहकलाई सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य रहेको बैंकको भनाइ छ।






