ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको स्वतन्त्र महिला सञ्चालक पदमा पूर्वसचिव तथा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त हुनुभएको छ।
बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजित विशेष समारोहमा स्वागत गर्नुभएको बैंकले जनाएको छ।
भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापनका क्षेत्रमा साढे तीन दशकभन्दा बढीको अनुभव छ। उहाँले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा जिम्मेवारी सम्हाल्नुभएको थियो।
शैक्षिक रूपमा भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक उपाधि हासिल गर्नुभएको छ। साथै, अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एन्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट ननप्रफिट म्यानेजमेन्ट विषयमा उच्च शिक्षा हासिल गर्नुभएको छ।
हाल उहाँ साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (SAWTEE) की कार्यकारी सदस्य तथा प्रोफेसनल होल्डिङ्सको स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत हुनुहुन्छ।
भट्टराईको नियुक्तिले बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
स्वागत कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।






