नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यसहित आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ।
बैंकले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिहरूले डिजिटल बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सकून् भन्ने लक्ष्यसहित वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधाहरू समावेश गरेको जनाएको छ। नयाँ प्रणालीअनुसार वेबसाइटमा स्क्रिन रिडर अनुकूल संरचना, अक्षर आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट (High Contrast) विकल्प तथा न्यून दृष्टि भएका प्रयोगकर्ताका लागि आवश्यक अन्य पहुँचसम्बन्धी उपकरणहरू समावेश गरिएको छ।
बैंकका अनुसार यी सुविधाहरूले सबै वर्गका ग्राहकलाई समान डिजिटल पहुँच सुनिश्चित गर्नेछ र समावेशी बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउनेछ। नेपाल बैंकले सबै नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता निरन्तर सुदृढ गर्दै जाने जनाएको छ।
हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक प्रविधिको प्रयोग, सेवा सुधार र दक्ष जनशक्तिमार्फत ग्राहक सेवामा निरन्तर सुधार गर्दै प्रतिस्पर्धात्मक बैंकिङ प्रणालीलाई अगाडि बढाइरहेको जनाएको छ।






