काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्मको १० महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्क अनुसार देशको समग्र अर्थतन्त्रमा स्थायित्व र सुधारका संकेत देखिएका छन्।
राष्ट्र बैंकका अनुसार २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ भने चालु आर्थिक वर्षको १० महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ, जसले मूल्य स्थायित्वतर्फको सुधारलाई देखाएको छ।
विदेशी मुद्राको सञ्चिति समेत बलियो देखिएको छ। कुल विदेशी विनिमय सञ्चिति ३७०४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २४ अर्ब १९ करोड बराबर हो। यो सञ्चितिले करिब १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ।
चालु खाता ७२९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहँदा शोधनान्तर स्थिति पनि ८६३ अर्ब ५६ करोड रुपैयाँको बचतमा रहेको छ, जसले बाह्य क्षेत्र मजबुत भएको संकेत गर्छ।
विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाली रुपैयाँमा ४१.२ प्रतिशत र अमेरिकी डलरमा ३३ प्रतिशतले वृद्धि भएको छ। चालु वर्षको वैशाख महिनामा मात्र २५७ अर्ब ४९ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ।
व्यापार क्षेत्रमा निर्यात १४.२ प्रतिशत र आयात १४.८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै सरकारको खर्च ११७३ अर्ब ५२ करोड रुपैयाँ र राजस्व परिचालन ९८८ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
मुद्राप्रदाय पनि बढेको छ, विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशत र वार्षिक आधारमा १५.२ प्रतिशतले वृद्धि भएको छ।
बैंकिङ क्षेत्रमा निक्षेप परिचालन ९.४ प्रतिशत र निजी क्षेत्रमा कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेप १६ प्रतिशत र कर्जा ६.७ प्रतिशतले बढेको देखिन्छ।
ब्याजदरतर्फ वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.३५ प्रतिशत र कर्जाको औसत ब्याजदर ६.७३ प्रतिशत रहेको छ भने अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर २.६३ प्रतिशत कायम रहेको छ।
समग्रमा, मूल्य स्थिरता, विदेशी सञ्चिति मजबुती र विप्रेषण वृद्धिले नेपालको अर्थतन्त्रलाई तुलनात्मक रूपमा सन्तुलित अवस्थामा देखाएको छ।






