नबिल बैंकले सुरु गर्‍यो नेपाल–भारत सीमापार डिजिटल रेमिट्यान्स सेवा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले सुरु गर्‍यो नेपाल–भारत सीमापार डिजिटल रेमिट्यान्स सेवा

काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल सीमापार व्यक्ति-देखि-व्यक्ति (P2P) रेमिट्यान्स सेवा सुरु गरेको छ। बैंकका अनुसार यस सेवामार्फत नेपाल र भारतबीच डिजिटल माध्यमबाट सुरक्षित र तत्काल रकम पठाउन तथा प्राप्त गर्न सकिनेछ।

सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘nBank’ प्रयोग गरी भारतमा रहेका परिवारका सदस्य तथा आफन्तलाई तत्काल रकम पठाउन सक्नेछन्। साथै, नेपाली र भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंकका ग्राहकलाई सहज रूपमा रकम पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सीमापार भुक्तानीलाई छिटो, सुरक्षित र सहज बनाउने दिशामा यो सेवा महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार यसले नेपाल र भारतमा डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्न तथा ग्राहकको सुविधा अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ।

बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्थालाई ध्यानमा राख्दै रकम स्थानान्तरणको सीमा निर्धारण गरेको छ। नेपालबाट भारततर्फ दैनिक अधिकतम १५ हजार भारतीय रुपैयाँ र मासिक अधिकतम १ लाख भारतीय रुपैयाँ पठाउन सकिनेछ। भारतबाट नेपालतर्फ भने दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ, जबकि मासिक सीमा लागू हुने छैन।

यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) को सहकार्यमा सञ्चालन गरिएको हो।

नबिल बैंकले हाल देशभर २६६ शाखा र ३१८ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार यसले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्ला वर्षहरूमा डिजिटल तथा दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै आफ्ना सेवा विस्तार गरिरहेको छ।

  • MBL - below news