पर्सा — पर्सामा यस वर्ष गहुँ उत्पादन घटेको छ । खेतीयोग्य क्षेत्र बढे पनि प्रतिहेक्टर उत्पादन घट्दा कुल उत्पादनमा उल्लेख्य कमी आएको कृषि ज्ञान केन्द्र पर्साको तथ्यांकले देखाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा २३ हजार २० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो । प्रतिहेक्टर ३.७३ मेट्रिक टन उत्पादन दरका आधारमा ८५ हजार ८ सय ६५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर, यस वर्ष २३ हजार २ सय हेक्टरमा खेती विस्तार भए पनि प्रतिहेक्टर उत्पादन २.६ मेट्रिक टनमा झरेपछि कुल उत्पादन ६० हजार ३२० मेट्रिक टनमा सीमित भएको छ ।






