महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सव: 'कर्पोरेट क्रिकेट लिग' को पाँचौँ संस्करण जेठ १७ देखि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सव: 'कर्पोरेट क्रिकेट लिग' को पाँचौँ संस्करण जेठ १७ देखि

काठमाडौँ – महालक्ष्मी विकास बैंकले आफ्नो ३२औँ वार्षिकोत्सवका अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२६’ को पाँचौँ संस्करण आयोजना गर्ने भएको छ। जेठ १७ गतेदेखि २० गतेसम्म काठमाडौँको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन हुने उक्त प्रतियोगिता बैंकको वार्षिक उत्सवको एक हिस्सा हो।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र मर्चेन्ट बैंकहरूको सहभागिता रहने यो प्रतियोगितालाई कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतिस्पर्धाको रूपमा हेरिन्छ। प्रतियोगितामा २४ टोलीको सहभागिता रहनेछ, जसमा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बीमा कम्पनी र १ मर्चेन्ट बैंक समावेश छन्। लिग कम नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगितामा कुल ४५ खेल हुनेछन्। सहभागी २४ टोलीलाई ६ वटा समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहका विजेता टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। खेलहरू १० ओभर प्रति इनिङ्सका हुनेछन्।

आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको टाई सिट सार्वजनिक गर्नुका साथै विजेता तथा उपविजेता टोलीका लागि ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ। सोही कार्यक्रममा टोलीका कप्तानहरूलाई जर्सी वितरण गरिएको छ। प्रतियोगिताको उद्घाटन जेठ १७ गते हुनेछ भने समापन तथा पुरस्कार वितरण समारोह जेठ २२ गते आयोजना गरिनेछ। प्रतियोगितामा म्यान अफ द सिरिज, उत्कृष्ट बलर, ब्याट्सम्यान, विकेट किपर, फिल्डर र फेयर प्ले अवार्ड लगायतका विधामा खेलाडीहरूलाई पुरस्कृत गरिनेछ।

प्रतियोगिताका सबै खेलहरू महालक्ष्मी विकास बैंकको आधिकारिक युट्युब च्यानलका साथै नेवा टेलिभिजन र उक्त टेलिभिजनको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने बैंकले जनाएको छ। माछापुच्छ्रे बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स, मञ्जुश्री फाइनान्स, स्वावलम्बन लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनआईएमबी एस क्यापिटलले यस प्रतियोगितामा सहभागिता जनाएका छन्।

“सबल बैंक, सफल सहकार्य” को नारासहित विगत ३२ वर्षदेखि अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर १०३ शाखा कार्यालयहरू सञ्चालनमा छन् भने बैंकले ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

  • MBL - below news