काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ मंगलवार (आज) बाँडफाँट भएको छ । कम्पनीले अन्तिम चरणमा गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । सो अवधिभित्र रितपूर्वक आवेदन दिएका २५ लाख ५७ हजार ८५५ जना आवेदकहरूमा गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा भाग्यमानी ७७ हजार ८१२ जनाले मात्र कम्पनीको आईपीओ पाएका छन् ।
यीमध्ये ५ जनाले भने ११ कित्तासम्म र बाँकीले १० कित्ताका दरले आईपीओ हात पारेका छन् । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ खरीदका लागि २६ लाख १ हजार ८४८ जनाको आवेदन परेको थियो ।
यस कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ दरका १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।







