काठमाडौं– नेपाल वायुसेवा निगम वित्तीय रुपमा अत्यन्त नाजुक अवस्थामा पुगेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।
महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार निगमको चुलिँदो ऋण भारले संस्थाको वित्तीय अवस्थालाई नाजुक बनाएको छ । यस्तै, राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थलहरूको वर्तमान अवस्था पनि चिन्ता गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार वायुसेवा निगमको अहिलेसम्म ५५ अर्ब ऋण पुगेको छ । निगमले विमान खरिदका लागि लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्दा कुल दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
निगमले ए–३२० र ए–३३० विमान खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्बसहित गरेर कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमले भुक्तानी तालिका बमोजिम साँवा र ब्याजको किस्ता नियमित रूपमा बुझाउन सकेन । समयमै किस्ता भुक्तानी नहुँदा ब्याज र हर्जाना थपिँदै जाँदा ३६ अर्बको ऋण बढेर ५५ अर्ब नाघेको प्रतिवेदनमा उल्लेख छ ।







