काठमाडौं । स्मार्ट टेलिकमको उपकरण लिलामी प्रकरणमा दूरसञ्चार सेवा प्रदायक एनसेलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)लाई रकम फिर्ताका लागि पत्राचार गरेको खुलेको छ ।
लिलामी प्रक्रियामा खरीद गरेको स्मार्ट टेलिकमको सम्पत्तिको स्वामित्व हस्तान्तरण हुन नसकेपछि एनसेलले गत वैशाख २९ गते एनआईएमबीलाई बुझाएको उक्त रकम फिर्ता मागेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
स्रोतले एनसेल लिलामी प्रक्रियामा कानुनसम्मत रूपमा सहभागी भएको दाबीसमेत गरेको छ । एनसेलले सार्वजनिक सूचना बमोजिम बैंक र नियामक निकाय (नेपाल दूरसञ्चार प्राधिकरण)लाई लिखितरूपमा जानकारी गराएरै पारदर्शी रूपमा बोली लगाएको स्रोतको भनाइ छ ।
कसरी शुरु भयो प्रकरण ?
गत वर्ष असोजमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकको सहवित्तीयकरणमा रहेको स्मार्ट टेलिकमको उपकरण विक्रीका लागि १५ दिने सार्वजनिक सूचना जारी गरिएको थियो । जसमा एनसेलले सबैभन्दा आकर्षक बोली लगाएको थियो ।








