काठमाडौँ । Nepal Investment Mega Bank का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि स्मार्ट सेलको सम्पत्ति बिक्री प्रकरण फेरि चर्चामा आएको छ। प्रहरीका अनुसार पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको तथा त्यससँग सम्बन्धित रकम व्यवस्थापन प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार राति उनलाई पक्राउ गरेको जनाएको छ। सिआइबीका एआइजी मनोज केसीका अनुसार पाण्डे भारततर्फ जाने तयारीमा रहेका बेला सिन्धुलीबाट पक्राउ परेका हुन्। प्रहरीले उनको मोबाइल स्वीचअफ रहेको अवस्थामा सवारी जाँचका क्रममा नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पाण्डे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको Loan Recovery Committee का अध्यक्ष समेत हुन्। स्मार्ट सेलको सम्पत्ति लिलामी प्रक्रियामा उनको संलग्नता देखिएको दाबी गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि बैंकले गत असोज ३ गते स्मार्ट सेलसँग सम्बन्धित उपकरण तथा संरचना लिलामीको सूचना प्रकाशित गरेको थियो। उक्त सूचनामा घरबहाल तथा विद्युत महसुलबापत करिब ४० करोड रुपैयाँसमेत एकमुष्ट रूपमा कबुल गरी बोलपत्र पेश गर्नुपर्ने उल्लेख गरिएको थियो।
तर, बोलपत्रमार्फत रकम उठाइए पनि सम्बन्धित घरधनी तथा विद्युत प्राधिकरणलाई भुक्तानी नगरी ठगी तथा आपराधिक विश्वासघात गरिएको आरोप रहेको प्रहरीले जनाएको छ। सिआइबीका अनुसार स्मार्ट सेल सम्पत्ति बिक्री प्रक्रियामा करिब चार अर्ब रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आशंका गरिएको छ।
यस प्रकरणमा यसअघि स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाक पक्राउ परिसकेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट सेललाई २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन अनुमति दिएको थियो। तर कम्पनीले समयमै अनुमतिपत्र नवीकरण नगरेपछि कानुनी व्यवस्थाअनुसार अनुमति स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीका सम्पूर्ण दूरसञ्चार पूर्वाधार तथा सम्पत्ति प्राधिकरणको नियन्त्रणमा गएका थिए।
प्रहरीले सरकारको नियन्त्रणमा रहेको सम्पत्तिलाई गैरकानुनी रूपमा लिलामी गरी राज्यको हकहितमा क्षति पुर्याउने उद्देश्यले ठगी तथा आपराधिक विश्वासघात गरिएको आरोपमा अनुसन्धान अघि बढाइएको जनाएको छ।








