अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास भएको बताए ।
मंगलवार अर्थ समिति बैठकमा बोल्दै उनले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा गएको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । अर्थमन्त्री वाग्लेले नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । उनले केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वसम्म प्रभावित पार्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।








