अहिले विश्व पूर्णरूपमा बदलिएको छ । डिजिटल अर्थतन्त्र बढेको छ । अर्थतन्त्रको स्वरूप फेरिएको छ । भू–राजनीतिले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । २०औं शताब्दीको मध्यतिर बनेका धेरै संस्था र मूल्यहरू अहिले पुनः संरचनाको अवस्थामा पुगेका छन् । हामीमध्ये धेरैले करीब २० वर्ष विदेशमा बितायौं । विश्वका नियमहरू सिक्यौं । तर, अहिले ती नियमहरू नै फेरिँदै छन् ।
मैले तीनओटा कुरा पहिलेदेखि भन्दै आएको थिएँ, जनसांख्यिकी, डिजिटाइजेशन र प्रवासी नेपाली । यी तीन शक्तिले मिलेर नेपालमा ठूलो परिवर्तन ल्याउने मैले अनुमान गरेको थिएँ । अहिले त्यही भइरहेको छ । हामी आगामी बजेटको तयारी गरिरहेका छौं । सरकारी खर्च सीमित छ । यो वर्ष करीब २० खर्ब रुपैयाँ सरकारी खर्च हुने अनुमान छ । आर्थिक वृद्धि १० देखि १२ प्रतिशत हुने अपेक्षा गरिएको छ । तर, नेपालको अर्थतन्त्र त्योभन्दा धेरै ठूलो छ । अहिले अर्थतन्त्रको आकार करीब ६६ खर्ब रुपैयाँ छ । हामी यसलाई ७४ खर्ब रुपैयाँसम्म पुर्याउने आशामा छौं । डलरमा हिसाब गर्दा सरकारी खर्च करीब १५ अर्ब डलर मात्र हो । तर, बाँकी ५० अर्ब डलर बराबरको अर्थतन्त्रलाई चलायमान बनाउन निजीक्षेत्रको भूमिका आवश्यक छ । यही हाम्रो महत्त्वाकांक्षा हो ।








