काठमाडौँ — फागुन २०८० मा नेपाल र भारतले सीमापार क्यूआर भुक्तानी प्रणाली सुरु गर्दा यसलाई कोसेढुंगाका रूपमा प्रचार गरिएको थियो । दुई छिमेकी देशबीच निर्बाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरियो । त्यसयता नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीहरूले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड ‘स्क्यान’ गरेर रकम भुक्तानी गर्न पाएका पनि छन् । तर, भारत जाने नेपालीहरूले भने अझैसम्म यो सुविधा पाएका छैनन् ।
नेपालका बैंक, भुक्तानी सेवा सञ्चालक र केन्द्रीय बैंकले आफूहरू प्राविधिक रूपमा तयार रहेको भन्दै पटक–पटक आश्वासन दिए पनि पारस्परिक सेवा सुरु हुन नसकेको जनाएका छन् । सेवा सञ्चालनका लागि विभिन्न पटक समयसीमा तोकिए पनि सुरु भने हुन सकेको छैन । पछिल्लो पटक डिसेम्बर २०२४ बाट नेपालीले भारतमा क्यूआरबाटै भुक्तानी गर्न पाउने भनिएको थियो । तर, यतिका समय बितिसक्दा पनि भुक्तानी सुरु नभएको बारे कुनै पनि पक्षले स्पष्टीकरण दिएका छैनन् ।







