विराटनगर । ल्याब परीक्षणमा कडा प्रावधानका कारण मेची नाकाबाट नेपाली चियाको भारत निकासी ५ दिनदेखि ठप्प भएको छ । नेपालमा उत्पादित ९० प्रतिशत चियाको बजार भारत हो ।
भारतले नेपाललगायत देशबाट आयात हुने चियामा मे १ देखि लागू हुनेगरी परीक्षणमा कडा नियम लागू गरेको छ । पहिले एकपटक चियाको परीक्षण गरेपछि ६ महीनापछि मात्र पुनः परीक्षण गर्ने गरिएकोमा अहिले प्रत्येक खेप (मालवाहक गाडी)का प्रत्येक बोराबाट नमूना परीक्षणपछि पास भएमा मात्र भारतमा प्रवेश दिने नियम लगाइएको छ । यस्तो नियमले समय र लागत बढ्नुका साथै झन्झटिलो भएकाले व्यवसायीले तत्कालका लागि चिया निकासी बन्द गरेको हुन सक्ने मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर हुमागाईंले बताए ।
भारतले चिया परीक्षणमा नयाँ नियम लगाएपछि मे १ देखि भन्सार जाँचपासका लागि एउटा पनि मालवाहक गाडी नआएको हुमागाईंले बताए । यसअघि दैनिक १० ट्रकसम्म चियाको भन्सार जाँचपास भएर भारतको पानीटंकी नाका हुँदै पश्चिम बंगाल लगायत स्थानमा चिया निकासी हुँदै आएको थियो ।








