काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न क्षेत्रहरूमा लक्षित कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ।
बैंकका अनुसार वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार सुधार तथा दिगो विकाससँग सम्बन्धित गतिविधिहरूलाई प्राथमिकतामा राखी कार्यक्रमहरू अघि बढाइएको हो।
यसैक्रममा, लुम्बिनी वर्ल्ड पिस फोरम सँगको सहकार्यमा ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत खप्तड छेडेदह गाउँपालिका–१, काँडामा पृथ्वी दिवसको अवसरमा २ हजार कागतीका बिरुवा रोप्न आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ। उक्त कार्यक्रम हरियाली विस्तार, स्थानीय खाद्य सुरक्षा सुदृढीकरण, दिगो स्रोत उपयोग तथा रोजगारी सिर्जनामार्फत जलवायु जोखिमयुक्त क्षेत्रका समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्यका साथ सञ्चालन गरिएको हो।
त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम र उपचारसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमलाई सहयोग गर्दै संकलित रकम कान्ति बाल अस्पताल को क्यान्सर वार्डमा हस्तान्तरण गरिएको छ।
Global Money Week 2026 को अवसरमा बैंकले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, बाँकेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको जनाएको छ। साथै, युवामाझ जिम्मेवार वित्तीय व्यवहार र आर्थिक ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले ‘सातौँ नेपाल इकोनोमिक ओलम्पियाड’ लाई पनि आर्थिक सहयोग गरिएको छ।
बैंकका शाखा तथा प्रादेशिक कार्यालयमार्फत देशभर वित्तीय पहुँचबाट बाहिर रहेका समुदाय लक्षित गरी वित्तीय साक्षरता, सचेतना र ¥याली कार्यक्रमहरू समेत सञ्चालन गरिएको जानकारी दिइएको छ।
यस्ता गतिविधिबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब ८ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।








