काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा करिब २० अर्ब रुपैयाँले घटेको छ । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कर्जा २ खर्ब ७६ अर्ब ४६ करोड रुपैयाँ छ । गत असारको तुलनामा फागुनसम्म विपन्न वर्ग कर्जा ६.८ प्रतिशतले घटेको हो । गत असारमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग क्षेत्रमा २ खर्ब ९६ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यद्यपि गत आर्थिक वर्षको आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विपन्न वर्ग कर्जा करिब चार प्रतिशतले मात्र घटेको देखिन्छ । गत आर्थिक वर्षको फागुनमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कर्जा २ खर्ब ८७ अर्ब ७६ करोड रुपैयाँ थियो ।







