भ्रामक प्रचारविरुद्ध नबिल बैंकको स्पष्टिकरण: ग्राहक डाटा सुरक्षित रहेको दाबी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भ्रामक प्रचारविरुद्ध नबिल बैंकको स्पष्टिकरण: ग्राहक डाटा सुरक्षित रहेको दाबी

काठमाडौं । नबिल बैंक लिमिटेडले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको ग्राहक गोपनीयता भंगसम्बन्धी आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै कडा खण्डन गरेको छ। बैंकले यस्ता भ्रामक सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास गरेको जनाएको छ।

बैंकका अनुसार मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिक मा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू” शीर्षकको समाचारमा बैंकिङ कारोबारसम्बन्धी विवरण अनुसन्धानरत निकायबाट प्राप्त गरिएको स्पष्ट रूपमा उल्लेख गरिएको छ। उक्त तथ्यलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरेकोप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ।

बैंकले सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट पार्दै कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, उनका आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रियाअनुसार नियामकीय तथा अनुसन्धानकारी निकायले मागेको अवस्थामा बाहेक अन्य कुनै सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध नगराइने र नगराइएको जनाएको छ।

बैंकका अनुसार ग्राहकसम्बन्धी कुनै पनि विवरण प्रणालीबाट निकालिएको अवस्थामा त्यसको मिति, संलग्न कर्मचारी र प्रयोजनसम्बन्धी सम्पूर्ण विवरण कोर बैंकिङ सिस्टममा सुरक्षित रूपमा अभिलेख रहने व्यवस्था छ। यस आधारमा बैंकमाथि लगाइएका आरोप तथा अनुमानहरू पूर्ण रूपमा गलत, भ्रामक र आधारहीन रहेको बैंकले स्पष्ट पारेको छ।

इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा नबिल बैंक लिमिटेडले प्रचलित कानून, नियमन तथा आन्तरिक सुशासनका मापदण्डहरूको पूर्ण पालना गर्दै ग्राहक सूचनाको गोपनीयता कायम गर्न सधैं प्रतिबद्ध रहेको जनाएको छ।

बैंकिङ गोपनीयता कायम राख्नु र ग्राहक सूचनाको संरक्षण गर्नु बैंकिङ नैतिकता तथा अनुपालनको आधारभूत सिद्धान्त भएको बैंकले जनाएको छ। यस क्षेत्रमा आफूले सधैं उच्चतम मापदण्ड र अभ्यासहरू पालना गर्दै आएको पनि बैंकको भनाइ छ। चार दशकभन्दा बढीको विश्वसनीय इतिहास बोकेको नबिल बैंकजस्तो जिम्मेवार संस्थाबाट कुनै पनि ग्राहकको व्यक्तिगत विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइने सम्भावना नरहेको बैंकले स्पष्ट पारेको छ।

बैंकले स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बंग्याउँदै आफ्ना विरुद्ध दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन सामग्री नफैलाउन र जनमानसलाई भ्रमित नपार्न आग्रह गरेको छ। साथै, नियोजित रूपमा दुष्प्रचारमा संलग्न व्यक्तिहरूविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानुनअनुसार कानुनी कारबाही अघि बढाइने जनाएको छ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई यस्ता अफवाहमा विश्वास नगर्न अनुरोध गर्दै ग्राहक गोपनीयता र सुरक्षामा सधैं संवेदनशील रहेको उल्लेख गरेको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित सेवा प्रदान गर्दै आएको बैंकले भविष्यमा पनि उच्च गुणस्तरीय र विश्वसनीय सेवा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 
  • MBL - below news